सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु, यसरी घटेकाे थियो घटना

सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु, यसरी घटेकाे थियो घटना

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए । 

सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए । उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो । घाइते राजभारलाई उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको  लामाले जानकारी दिए । 

यसरी घटयो घटना 
आज विहान साढे ९ बजेको समयमा प्रतापपुर गाउँपापालिका वडा ६ कठहवाँका २ जना युवाहरु भारत जान खोज्दा सीमामा खटिएको शसस्त्र प्रहरीले रोकेको थियो । भारत जान नपाएपछि ती दुईजना युवाहरु भनाभन गर्दै फर्कि गाउँबाट ५०÷६० जनालाई जुटाई शसस्त्र प्रहरी र अस्थायी पोष्ट माथि ढुंगामुढा गरि झडप गरेका थिए ।

स्थानिय र शसस्त्र प्रहरी बिचको झडप अनियन्त्रित भएपछि शसस्त्र प्रहरीले भिड तितरबितर गर्न २ राउन्ड हवाई फायर गरेको थियो जसमध्ये एक गोली मृतक राजभरको खुट्टामा लागेको सशस्त्र प्रहरी बल नं। २६ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीयको सशस्त्र प्रहरीतर्फ पनि ६ जना घाइते छन् । जसमध्ये शसस्त्र प्रहरी नायब निरीक्षक शंकर बुढाथोकीको टाउकामा गम्भीर चोट लागेको उनले बताए । कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सीमा बन्द गरेको छ । तर पनि सीमावर्ति क्षेत्रका केहि स्थानीयले आवतजावतको प्रयास गर्दै आएका छन् ।