ओली–नेपाल वार्ता : विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन, को–को परे ?

ओली–नेपाल वार्ता : विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन, को–को परे ?

पार्टीभित्र देखिएको विवाद समाधानका लागि एमालेले कार्यदल गठन गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटमा विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा अध्यक्ष ओली र नेपाल समूहबाट पाँच–पाँच जना सदस्यलाई राखिएको छ । 

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाइएको बताए ।  अध्यक्ष ओलीका तर्फबाट कार्यदलको नेतृत्व संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गर्ने छन् भने नेपाल समूहको नेतृत्व भीमबहादुर रावलले गर्ने छन् ।

कार्यदलमा अध्यक्ष ओली समूहबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनेछन् । खनाल–नेपाल समूहबाट भने रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,  रघुजी पन्त र गोकर्ण विष्ट छन् ।  

यसअघि गत बिहीबार चपली हाइटमा भएको छलफलमा अध्यक्ष ओली र नेपालबीच विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।