मध्यरातमा किन पुगेका थिए बाबुराम बालुवाटार ?

मध्यरातमा किन पुगेका थिए बाबुराम बालुवाटार ?

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट स्वीकार गरेका छन्। 

प्रधानमन्त्री ओली निकट एमाले नेता महेश बस्नेतले ‘भट्टराई मध्यराति बालुवाटार पुगेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको’ दाबी गरेका थिए। तर, भट्टराईले आफूले ओलीलाई व्यक्तिका रुपमा नभई प्रधानमन्त्रीका रुपमा भेट गरेको र राष्ट्रिय सहमतिको सरकारका लागि आग्रह गरेको ट्वीटरमार्फत स्वीकार गरेका छन्। 

उनले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो, महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ। सोचौं।’

तर भट्टराईले ओलीसँग दुई पटक भेट गरेको बस्नेतको दाबी छ। बस्नेतले भनेका थिए, ‘यो दश दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे। उनले आजको दिनमा राष्ट्रिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ। आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो। तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस्। त्यो तपाईबाहेक अरु कसैले गर्न सक्दैन। प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो।' 

त्यसपछि प्रधानमन्त्रीले के भन्नुभयो अरे भने 'मेरोविरुद्ध तपाई, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्‍नुभाछ, अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधिरु तपाईबाहेक को छ तपाईको प्रतिनिधि?'