जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन्।

बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको सांसद प्रमोद साहले जानकारी दिए। ’२० जनाले हस्ताक्षर गरेर दलको नेता चुनिएको हो। सर्वसम्मत हुन सकेन,’ साहले भने। उनका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय खुलेपछि दर्ता गराउने तयारी छ। 

महतो निकट नेता मनिष सूमनले पनि बिहीवार भक्तपुरमा बसेको बैठकले महतोलाई दलको नेता चुनेको पुष्टि गरे। दलको बैठकमा उपेन्द्र यादव र बाबुराभ भट्टराई समूह भने बैठकमा उपस्थित थिएन। एक वर्षअघि राजपा र समाजवादी पार्टीबिच एकता हुँदा महतोलाई दलको नेता बनाउने सहमति भएको थियो।

प्रतिनिधिसभा विघटनपछि एकपटक संसदीय दलको बैठक बसे पनि यसबारे निर्णय हुन सकेको थिएन। सो दलको अध्यक्षता महन्थ ठाकुर र उपेन्द्र यादवले आ-आफ्नो दलको नेताको हैसियतमा गरेका थिए।

अब सरकारमा जाने अवस्था आएमा महतोले नै जसपाको प्रतिनिधित्व गर्नेछन्।