राष्ट्रियसभा सदस्यमा गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यमा गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता

हेटौडा । राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।

देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लानलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए ।

रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।