महराको मुद्दामा थुनछेक हुँदै, रिहा होलान् कि थुनामै जालान्?

काठमाडौँ निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आजदेखि अदालतमा बयान हुँदैछ। बयान सकिएपछि आजै मुद्दाको बहस हुनेछ। बिहीबार मुद्दा दर्ता भए पनि आजदेखि मात्रै बयान थाल्न लागिएको हो।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले बयानको प्रक्रिया आजदेखि सुरु हुने बताए।

बहस सकिएपछि महरा रिहा हुने वा थुनामा रहने टंगो लाग्नेछ। महरा पुर्पक्षका लागि थुनामा वा धरौटी वा साधरण तारेखमा रिहा हुन सक्नेछन्।

बिहीबार महराविरुद्ध मुद्दा दायर गरिएको थियो। सरकारी वकिलले महरामाथि पाँच वर्ष तीन महिनादेखि साढे सात वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको छ।

असोज १२ गते संसद् सचिवालयकी महिला कर्मचारीमाथि करणी प्रयास गरेको आरोप लागेपछि महराले राजीनामा दिएका थिए। पुर्पक्षका लागि थुनामा गएमा महरा सांसदबाट पनि निलम्बन हुनेछन्।