कोरोनाको 'नक्कली' रिपोर्ट बोकेर विदेश जान लागेका एक सय २२ जनालाई एयरपोर्टबाट फिर्ता पठाइयो

कोरोनाको 'नक्कली' रिपोर्ट बोकेर विदेश जान लागेका एक सय २२ जनालाई एयरपोर्टबाट फिर्ता पठाइयो

काठमाडौं । काठमाडौंको सूर्या ल्याबमा कोरोना परीक्षण गराएको रिपोर्ट देखाएर विदेश जान लागेका एक सय २२ जनालाई विभिन्न एअरलाइन्सले फिर्ता पठाइदिएका छन् । सूर्या ल्याबको रिपोर्ट बोकेर विदेश जान लागेका एक सय २२ यात्रुलाई एअरलाइन्स कम्पनीले नै फिर्ता पठाइदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

सूर्या ल्याबले नौ हजार रुपैयाँ लिएर स्वाब नै नलिइकन नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि त्यहाँबाट रिपोर्ट लिएर विदेश जान लागेकाहरूलाई फिर्ता पठाइएको हो ।

मङ्गलवार (हिजो) सूर्या ल्याबमा छापा मार्दा नौ हजार रुपैयाँ लिएर स्वाब परीक्षण विना नै कोरोना नेगेटिभ रहेको रिपोर्ट दिने गरेको भेटिएको थियो । सूर्या ल्याबका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ भने ल्याबमा सिलबन्दी गरिएको छ ।

सूर्या ल्याबको रिपोर्टका आधारमा विदेश जान समस्या रहेको भन्दै सचेत रहन विमानस्थलले आग्रह गरेको छ ।