सगरमाथा आधारशिविर पुगेका अरोहीमा कोरोना पुष्टि, दलका अन्य सदस्य क्वारेन्टाइनमा

सगरमाथा आधारशिविर पुगेका अरोहीमा कोरोना पुष्टि, दलका अन्य सदस्य क्वारेन्टाइनमा

काठमाडौं । सगरमाथा आधार शिविरमा (पाँच हजार ३६४ मिटर) पुगेका एक आरोहीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ दिन अघि आधार शिविरमा सिकिस्त विरामी भएपछि काठमाडौं ल्याइएका नर्वेका आरोहीको स्वाब परीक्षण गर्ने क्रममा कोरोना पुष्टि भएको हो । 

कोरोना पुष्टि भएपछि उक्त आरोहण दलका सदस्यलाई एक साता क्वारेन्टाइन बस्न लगाइएको छ । उहाँहरूलाई टेन्टभन्दा बाहिर आवतजावत नगर्न भनिएको छ । स्वास्थ्य मापदण्ड पालनामा सरकारले कडाइ गरे पनि उच्च क्षेत्रमा समेत कोरोना पुष्टि भएपछि आरोहीहरु त्रसित बनेका छन् । एजेन्सीका कर्मचारी र आरोही काठमाडौंबाट हेलिकप्टरमा आधार शिविर पुग्ने र आधार शिविरबाट काठमाडौं सिधा आवतजावत गर्ने गरेपछि कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने एजेन्सीहरुले अनुमान गरेका छन् ।

आरोहीहरुमा श्वास फेर्न गाह्रो हुने, भोक लाग्ने, सुख्खाखोकी जस्ता समस्या फैलिएपछि उच्च सर्तकता अपनाउन सुझाव दिएको सगरमाथा आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएसनको हेल्थ क्याम्पमा कार्यरत डाक्टर सुरज श्रेष्ठले बताए ।

आधार शिविरमा ४० बढी देशबाट आरोहणका लागि आरोही आएका छन् । यस वर्ष ३७१ जनाले सगरमाथाको आरोहणका लागि अनुमती लिएका छन भने, पुमोरी आरोहणका लागि पाँच जना, ल्होत्से हिमालका लागि १०४ रनुप्से हिमालका लागि २३ जना गरी ५०३ जना आरोहीले आरोहण अनुति लिएका छन् । यी चार वटै हिमाल एउटै आधारशिविर भएर आरोहण हुने भएकाले सगरमाथा आधार शिविरमा भीड बढेको छ । हाल आधार शिविरमा आरोही, गाइड, कामदार गरी करिब १२ सय जनाभन्दा बढी रहेको एजेन्सीहरुले जनाएका छन् ।

आधार शिविरमा यो महिना सन् २०१९ मा भन्दा पनि बढी आरोहीले रहेकाले भीड बढी हुने पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।