ओलीको स्वेछाचारिता अब धेरै टिक्दैन: प्रचण्ड

ओलीको स्वेछाचारिता अब धेरै टिक्दैन: प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति असहज र अस्वाभाविक रुपमा अघि बढेको बताएका छन्। चितवनको माडी नगरपालिका स्तरको वाईसीएल भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि नै प्रहार गरेर परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका हुन्।

उनले भने, ‘केही समयदेखि देशको राजनीति निकै असहज र अस्वाभाविक रुपमा अघि बढेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै हमला गर्ने दुष्साहसहरु भएका छन्। संविधानको जुन समावेशी र समानुपातिक चरित्र छ, त्यसमाथि हमालको प्रयास भएको छ।’ ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भएको उनको भनाइ छ।

उनले भने, ‘७० वर्ष लामो लडाईंबाट प्राप्त उपलब्धिहरु माथि प्रहार गर्ने कोशिस भएको छ। यो प्रहार गरेर इतिहासको चक्कालाई पछाडि धकेल्ने प्रयास भएको छ। यो परिवर्तनलाई उल्ट्याउने, गणतन्त्र उल्ट्याउने, संघीयता उल्ट्याउने षड्यन्त्र एकथरी तत्वहरुले गरेका छन्।’ अहिलेको सत्ताको प्रमुख निसाना आफू र माओवादी आन्दोलन भएको उनको आरोप छ।

‘प्रचण्डको शक्ति सिद्धियो। प्रचण्डलाई साथ दिने मान्छे अब छैनन्, अब प्रचण्डमाथि जति प्रहार गरेपनि हुन्छ भन्ने एउटा प्रचार गरिएको छ। अहिलेको सरकार प्रमुखको प्रहारको निसाना भनेको माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्ड। प्रतिक्रियावादीको एक नम्बर निसाना प्रचण्डै हो। प्रचण्डलाई नसिध्याएसम्म हाम्रो भविष्य छैन भन्ने ठानेका छन्, हिजोका शासकहरुले।’

केपी ओलीको स्वेछाचारिता अब धेरै नटिक्ने उनको भनाइ छ।