तत्काल विद्यालय बन्द गराउन सरकारलाई संसदीय समितिको निर्देशन

तत्काल विद्यालय बन्द गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले बालबालिकाहरू कोभिड-१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारू हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। 

राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरूले  विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो।

समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरूको सुझावलाई ध्यानमा राखेर अत्यधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाहरूको जीवनरक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाइ बन्द गरी अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। 

निर्देशनमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति, विज्ञहरूको सुझाव तथा आजको छलफल अनुसार हाम्रा बालबालिकाहरू अत्यन्तै जोखिममा देखिएका छन् र स्कुलहरूमा कोरोना संक्रमण भएको पुष्टि भैसक्दा पनि चरम लापरबाही गर्ने स्कुलहरूलाई अनुगमन गरी कडा कारबाही गर्न र विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थितिमा हुने सिकाइ तत्काल बन्द गरी वैकल्पिक विधिबाट (भर्चुअल) वर्तमान अवस्था अनुसार पठनपाठन कडाइका साथ गराउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ। यसमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीहरूले पालना गर्नु जरूरी भएकाले यसमा कडाइ गर्न जरूरी छ।’

यसअघि छलफलमा सहभागी समिति सदस्यहरूले भौतिक उपस्थितिमा स्कुलम हुने पठनपाठन लगायत क्रियाकलापका कारण ठूलो संख्यामा बालबालिकाहरू कोभिड-१९ को उच्च जोखिममा रहेको भन्दै तत्काल विद्यालयहरू बन्द गर्न सरकारलाई सुझाव दिनुपर्ने धारणा राखेका थिए।