जात्रामा बोडेका ४८ वर्षका बुद्धकृष्णले आठौँ पटक जिब्रो छेडे

जात्रामा बोडेका ४८ वर्षका बुद्धकृष्णले आठौँ पटक जिब्रो छेडे

भक्तपुर ।  बुद्धकृष्ण श्रेष्ठले आठौँ पटक जिब्रो छेडेका छन्  । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रामा बोडेका ४८ वर्षका बुद्धकृष्णले आठौँ पटक जिब्रो छेडे ।

तान्त्रिक विधि पूरा गरी १० इन्च लामो सुइरोले उनकाे जिब्रो छेडिएको हो । कला संस्कृतिको संरक्षणका लागि जिब्रो छेडे्ने जात्रालाई निरन्तरता दिएको उनले बताए । जात्रामा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

अहिलेसम्म १२ जनाले निरन्तर एक सय ६ वर्ष जिब्रो छेडेका छन् । यसअघि विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई,  २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात पटक जिब्रो छेडेका थिए ।

यस्तै २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात पटक तथा जुजुभाई बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका छन् ।अघिल्लो वर्ष कोभिड–१९ का जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलो पटक रोकिएको यो जात्रा यस वर्ष निरन्तरता पाएको हो । बुद्धकृष्ण श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रूपमा कोरोना महामारीमा कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर सङ्क्रमितको सेवा गर्दै आएका छन्  ।