काठमाडौं  पुनः प्रदूषित शहरको शीर्ष स्थानमा

काठमाडौं  पुनः प्रदूषित शहरको शीर्ष स्थानमा

काठमाडौं । काठमाडौं पुनः विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा परेको छ । मंगलबार बिहान हावाको गुणस्तर मापन गर्ने काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३३ रहेको छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

शिवपुरी क्षेत्रसहित काठमाडौं आसपासका जंगलहरुमा भएको आगलागी, हावा नचल्नु, पानी नपर्दा उपत्यकामा धुवाँ र धुलोका कण थुप्रिएर प्रदूषण बढेको हो । त्यस्तै दोस्रो स्थानको भारतको नयाँ दिल्लीको एक्यूआई १६६ रहेको छ । हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाण्डु बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविद्ले बताएका छन् ।


प्रदूषण बढेपछि काठमाडौंमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने जस्ता समस्या दैनिक बढेका छन् । काठमाडौंमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाडौंको प्रदूषण हट्ने सम्भावना छैन । अझै केही दिनयता काठमाडौंमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा मात्र नभई अन्य शहरहरुमा समेत प्रदूषण अत्यन्त बढेको छ ।