आज पत्रकार महासंघको निर्वाचन, बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान

आज पत्रकार महासंघको निर्वाचन, बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान

काठमाडाैं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ ।

कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासंघको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए । निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ ।

केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी छन् ।

प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासंघमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासंघमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन ।

महासंघले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद् छन् ।

महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासंघको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्याअनुसार रहने व्यवस्था छ । नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो ।