बर्दियाको पाहुनालाई तीन किलो मासु

बर्दियाको पाहुनालाई तीन किलो मासु

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट चिडियाखाना ल्याइएको पाटे बाघलाई जावलाखेलको सदर चिडियाखानामा तीन किलो मासु र सामान्य पानी मात्र दिइएको छ । जंगलबाट एकै पटक चिडियाखाना पुगेको र लामो यात्रा गरेर आएको हुनाले केही तनावमा देखिएको र केही दिनमा सामान्य हुने डा चिरञ्जीवीप्रसाद पोखरेलले बताए ।  

करिब १० वर्षसम्म बर्दियाको घना जंगलमा रहँदा चारजना भन्दा बढी मानिसलाई आक्रमण गरेको पाइएको सदर चिडियाखानाका प्रमुख डा चिरञ्जीवी पोखरेलले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

चिडियाखानामा रहेका अरु बाघलाई व्यवस्थापन गरे जस्तै खानपानदेखि विशेष रेखदेखका साथ राखिएको छ । योसँगै चिडियाखानामा पाँच वटा बाघ रहेका छन् । मगंलबार ल्याइएको नयाँ बाघलाई भेटेनरी डाक्टरको रेखदेखमा राखिएको चिडियाखानाले जानकारी दिएको छ ।

जंगलमा रहेको बाघले एक दिन सिकार गरेपछि एक हप्तासम्म आहार पुग्थ्यो तर यहाँ दैनिक आहार दिने भएकाले बढी शरीर मोटाउने समस्या हुने खतरालाई ध्यान दिइने गरिएको उनको भनाइ छ । प्रत्येक दिन जनावर विरामी नहोस् भनेर भेटेनरी डाक्टरले निरीक्षण गर्ने गरेको पोखरेल बताउछन् ।

यस्ता बाघ यसअघि पनि ल्याइएको बताउँदै नयाँ बाघलाई व्यवस्थापन गर्न गाह्रो नहुने उनी बताउछन्। बर्दियाको घना जंगलमा यो बाघसहित कम्तीमा ८५ वटा बाघ रहेको अनुमान गरिएको छ । यो बाघसँगै पाँचवटा बाघ समस्याग्रस्त भएपछि नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको एउटा बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको थियो ।