सरकार र थारुहट संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता

सरकार र थारुहट संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता

काठमाडौं । सरकारी वार्ता टोली र थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुँदैछ। मंगलबार गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आज पनि वार्तालाई निरन्तरता दिन लागिएको हो। 

सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । संघर्ष समितिले कैलालीको टिकापुर घटनामा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राख्दै आएको छ। 

गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन्। थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा रहेको वार्ता टोलीमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सहभागी छन्।