बागलुङ घटना : बागलुङ र गुल्मीबाट पाँचजना पक्राउ

बागलुङ घटना : बागलुङ र गुल्मीबाट पाँचजना पक्राउ

पोखरा । गत आइतबार बागलुङको बडिगाड गाउँपालिका १० बल्देधुरीमा होली मनाउने क्रममा भएको झडपमा दुई जना युवाको ज्यान गएको घटनामा सोधपुछका लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

यो घटनालाई बागलुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले प्रत्यक्ष अनुसन्धान गरिरहेका छन् । उनका अनुसार पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । उनले भने, “सोधपुछको लागि पक्राउ गरेका हौँ ।”

उनीहरुलाई बागलुङ र गुल्मी जिल्लाबाट पक्राउ गरिएको उनले जानकारी दिए । “अहिलेलाई पक्राउ मात्र गरेका छौँ, थप विवरण सोधपुछपछि आउनेछ”, उनले भने । प्रहरीले घटना भएको चारदिनपछि उनीहरुलाई पक्राउ गरेको हो । पाँचजना पक्राउ परिसकेता पनि बाँकी दुई जना भने बाहिरी जिल्लाबाट ल्याउन लागिएको छ ।

उक्त घटनामा प्रकाश कुँवर र दीपक परियारले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए ।  घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केका छन् । अर्का घाइते ज्ञानु परियारको टाउकोमा गहिरो चोट लागेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचारपछि उनी पाल्पा थप उपचारका लागि गएका छन् ।मृतकको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो । दोषी पक्राउ नपरेसम्म शव नउठाउने अडान लिएका मृतकका आफन्तले सहमतिपछि अन्त्येष्टि गरेका छन् । यो घटनामा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सीआईबीको टोली समेत अनुसन्धानमा खटिएको छ ।