नचाहेर पनि लकडाउन गर्नुपर्ने परिस्थिति आउन सक्छः मन्त्रालय

नचाहेर पनि लकडाउन गर्नुपर्ने परिस्थिति आउन सक्छः मन्त्रालय

काठमाडौं । सरकारले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताए ।

“लकडाउन गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ, नचाहेर पनि लकडाउन गर्नुपर्ने हुन्छ। सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ”, उनले भने ।

उनले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेकोसमेत बताए । “भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको छ”, उनले भने । कोभिड-१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उनको भनाइ छ ।

उनले सधैँ साबुनपानीले हातधुन, भौतिक दूरी कायम राख्न र हातले नाकमुख छुनेजस्ता बानी हटाउनसमेत आग्रह गरे । कोभिड(१९ को सङ्क्रमण बढ्दै गएपछि गत वर्ष हिजोकै दिनदेखि बन्दाबन्दी भएको थियो । अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना सङ्क्रमणका कारण निधन भएका छन् ।