काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने भएको छ ।
पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो पानी पर्ने सम्भावना भने छैन । अझै दुई–तीन दिन देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस छ ।
यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस छ ।