दुर्घटनामा घाइते भएका सहचालकलाई कालीगण्डकीमा बगाएको आरोपमा चालक पक्राउ

दुर्घटनामा घाइते भएका सहचालकलाई कालीगण्डकीमा बगाएको आरोपमा चालक पक्राउ

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घाइते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा बगाइदिएको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्डमा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्टरबाट खसेर घाइते भएका गणेश गाहालाई उनकै साथीहरुले कालीगण्डकीमा बगाएर बेपत्ता बनाइदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घाइते गाहालाई ट्याक्टर चालक अमित परियार र त्यही ट्र्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका ८ का २२ वर्षीय सुनिल रानाले त्यही ट्र्याक्टरमा राखी साखँर घाट कालीगण्डकीमा लगेर फालेको प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

चैत ५ गते राति १० बजे यो घटना भएको प्रहरीको भनाइ छ ।  घटना भएको जानकारी पाउनासाथ प्रहरी टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको भए पनि गाहा अझै फेला परेका छैनन् । बेपत्ता गाहाको खोजतलास गर्न गोताखोर टोली ल्याउने तयारी भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

घटनामा संलग्न अर्का सहचालक सुनिल रानालाई प्रहरीले पक्राउ गरेको छ । रानाले यस घटनाबारे आफ्नो दिदीलाई भनेपछि घटना बाहिर आएको हो । रानालाई प्रहरीले ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै फरार रहेका ट्र्याक्टर चालक अमित परियारको खोजी भइरहेको र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।