हात्तीका लस्कर लिएर गैंडा गणना सुरु

हात्तीका लस्कर लिएर गैंडा गणना सुरु

मकवानपुर । हात्तीका लस्कर लिएर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली प्रतापपुरबाट गैंडा गडनाको काम सुरु गरिएको छ । वन तथा भू-संरक्षणमन्त्री प्रेम आलेमगरले हात्तीमाथि चढेर गैंडा गणनाको कामको आज बिहान रमौली प्रतापपुरबाट सुरु गरे । गैंडा गणनाका लागि हात्तीका लस्कर लागेका छन् ।

प्रतापपुरबाट हात्तीमाथि चढेर चितवनको सौराहामा औपचारिक कार्यक्रम गरिने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना आजदेखि सुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो ।
 
पछिल्ला वर्ष चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणले गैंडा मर्ने समस्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५र ७६ मा चोरी सिकारबाट गैंडा मर्ने संख्या शून्य थियो । तर अन्य कारणले ४३ वटा गैंडा मरेका चितवन निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । त्यसबेला चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा पाइएको थियो । गणनापछि चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा गरेर १ सय ६१ गैंडा मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । यसमध्ये चोरी सिकारीबाट जम्मा ६ वटा गैंडा मरेका छन् । १ सय ५५ वटा बूढो भएर र प्राकृतिक कालगतिसँगै केही दुर्घटनामा परेर मरेका हुन् ।

पाँचरपाँच वर्षमा गैंडा गणना गर्ने सरकारको नीति भए पनि अघिल्लो वर्ष कोरोनाका कारण गणना हुन सकेन । गैंडा विश्वबाट लोप हुने खतरामा पुगेको दुर्लभ वन्यजन्तु हो । गैंडा मारेमा, यसको अङ्गको किनबेच वा ओसारपसार गरेमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

गणनाका लागि हात्ती र गणकहरु छनोटको काम भैसकेको छ । उनीहरुलाई आवश्यक तालिमसमेत दिइएको छ । गणनामा ६० वटा हात्ती प्रयोग गरिँदै छ ।