भागरथी हत्या प्रकरण : दिनेशको टेलिफोन सम्वाद बाहिरियो, प्रहरीको अनुषन्धानमा उठ्यो प्रश्न (अडियोसहित)

भागरथी हत्या प्रकरण : दिनेशको टेलिफोन सम्वाद बाहिरियो, प्रहरीको अनुषन्धानमा उठ्यो प्रश्न (अडियोसहित)

बैतडी । बैतडी दोगडाकेदार गाँउपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पुर्पक्षमा रहेका किशोरले अपराध अस्वीकार गरेको उनको परिवारले दाबी गरेको छ । किशोरका बुबा दीपकराज भट्टले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भागरथीको हत्या आफ्ना छोराले नगरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । 

आइतबार पत्रकार सम्मेलनमा किशोरका बुबा दीपकराजले बालसुधारगृहमा आफूसँगको भेटमा छोराले बाध्यतामा परेर आफूले हत्या स्वीकार गरेको बताएको दाबी गरे । ‘क्याम्पसबाट फर्कँदै गर्दा उसले भागरथीको हत्या हुँदै गरेको देखेको रहेछ,’ दीपकराजले भने, ‘हत्याराहरूले घाँटीमा चक्कु राखेर घटनाबारे कसैलाई भने घरका परिवारलाई मारिदिने धम्की दिएपछि परिवारका सदस्यको ज्यान बचाउन आफूले हत्या गरेको भनेको हुँ, मैले हत्या गरेको होइन भन्यो ।’ भेट्न जानुअघि पनि आफूलाई टेलिफोनमा छोराले हत्या अस्वीकार गर्दै दोगडाकेदार गाउँपालिकाका एक कर्मचारी र नचिनेका अर्का एकजनाले मिलेर भागरथीको हत्या गरेको बताएको उनले जिकिर गरे । 

‘उतिवेला छोराले भागरथीको हत्या गरेको मैरैसामु स्वीकार गरेको थियो, आज आएर घटनाको वास्तविकता अर्कै रहेको भनिरहेको छ,’ दीपकराजले भने, ‘फोनमा हत्या अस्वीकार गरेपछि म सुधारगृहमा भेट्न गएँ । त्यहाँ प्रहरीकै सामु आफूले नभई दोगडाकेदारका कर्मचारीले हत्या गरेको बतायो । म विद्यालयबाट फर्किँदै थिए । भारगथी हत्या भएको स्थानमा म पुग्दा दुईजना थिए । एकजना चिनेँ, अर्को चिनिनँ । एउटाले मेरो घाँटीमा चक्कु राख्यो । मेरो पहुँच धेरै छ, तेरो बाबु तेरो भाइलाई अस्पताल लगिरहन्छ । हत्याबारे कसैलाई भनिस् भने बाबुलाई मारिदिन्छु भन्यो । बाबु मर्नुभन्दा त मैले नै अपराध गरेको हुँ भन्दा बाबुको ज्यान जोगिन्छ भन्ने लाग्यो र मैले हत्या स्वीकार गरेको हुँ भन्यो ।’ 

पत्रकार सम्मेलनमा दीपकराजले घटनाको निष्पक्ष छानबिनको माग गरे । प्रहरीले भने उपलब्ध प्रमाणले किशोरले नै हत्या गरेको हो भन्नेमा आफूहरू ढुक्क रहेको बताएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको विभिन्न कोणबाट दिनेश नै अभियुक्त देखिएको बताए ।

‘घरपरिवार, अदालत, सरकारी वकिल कार्यालय, न्यायाधीशकै सामु उनले हत्या स्वीकार गरेका छन्,’ प्रदेश प्रहरी प्रवक्ता सिंहले भने, ‘सबै कोणबाट अभियुक्त दिनेश नै हुन्, हामी ढुक्क छौँ ।’ घरपरिवारबाट घटना मोड्न यस्तो काल्पनिक भनाइ आएको हुन सक्ने उनले बताए । सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीको गत २१ माघमा विद्यालयबाट फर्किँदा बलात्कारपछि हत्या भएको थियो । ४ फागुनमा प्रहरीले हत्या आरोपमा उनकै गाउँका १७ वर्षीय किशोरलाई पक्राउ गरेपछि प्रहरीसमक्ष उनले हत्या स्वीकार गरेका थिए ।