भागरथी हत्या प्रकरणः दिनेशले बयान फेरे, भने-'मैले हत्या गरेको होइन'

भागरथी हत्या प्रकरणः दिनेशले बयान फेरे, भने-'मैले हत्या गरेको होइन'

काठमाडौं ।  बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टका अभियुक्त दीनेश भट्टले बयान फेरेका छन् । अदालतको आदेशपछि सुधार केन्द्रमा रहेका १६ वर्षीय दिनेशले आफूलाई जर्बजस्ती घटनाको कबोल गर्न लगाएको आफ्ना बाबुसमक्ष बताएका छन् ।

उनका बाबु दीपक भट्टले भागरथीलाई आफूलाई नमारेको भन्दै प्रहरीले घाँटीमा चक्कु राखेर घटना स्वीकार गर्न लगाएको बताएका छन् । दिनेशका बाबु शनिबार उनलाई भेट्न सुधार गृहमा पुगेका थिए । उनका बाबुले दोगडाकेदार गाउँपालिकाका एक प्राविधिक कर्मचारीको घटनामा संलग्नता रहेको बताएका छन् ।

‘मैले हत्या गरेको होइन । हत्या गर्ने एकजना गाउँपालिकाकै कर्मचारी हुन् । कार्की थरका हुन् । अर्को एकजनालाई मैले चिनिनँ’, दिनेशको भनाई उदृत गर्दै उनले भने ।

यता प्रहरीले भने घटनामा ट्वीस्ट ल्याउन खोजिएको बताएको छ । सुदुरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले तथ्य र प्रमाणले दिनेशको संलग्नता पुष्टि भइसकेको बताए ।

‘बालसुधारगृह कोठीमा पुर्पक्षका लागि पठाइएको छ । अहिलो बयान परिवर्तनको कुनै कुरा छैन् । सबै तथ्यले उसैलाई देखाएको छ । हामीले उसको बुवाले के बोल्यो भन्दा पनि तथ्यले के बोल्यो भन्न हेर्छौं । तथ्यले त्यही बोलेको छ । हिरासतमा भएको मदन भट्ट भन्ने भाईले पनि त्यही बोलेको छ’, उनले भने, ‘त्यो सरासर झुट कुरा हो । कसैले पनि घाँटीमा तरबार राख्ने काम गरेको छैन् । त्यहाँ तथ्य आफैं बोल्छ । तथ्यका लागि कुनै मान्छेले बोल्न पर्दैन । भागरथीले लगाएको घडी यहाँ छ भन्ने कुरा अरुलाई थाहा थिएन । उसैलाई थाहा थियो । अन्य प्रमाणहरु पनि छन् । उनीहरुले घटनाबारे ट्वीस्ट गर्ने दुश्प्रयास गरेको हुनसक्छ । प्रमाण र तथ्यहरुले अकाट्य रुपमा उनकै संलग्नता देखाएको छ ।’

एसएसपी सिंहले सबैमा बोल्ने स्वतन्त्रता भएकाले प्रहरीले बोल्नमा बन्देज लगाउन नसक्ने भन्दै यस विषयमा थप जानकारी लिने बताए ।

‘यसलाई अनुसन्धानमा रहने निकायले कुन लेभलसम्म लिन्छ भन्ने कुरा हो । अनुसन्धानको पाटोमा हामी क्लियर छौं । उनले किन बोले भन्ने विषयमा हामी बुझ्छौं’, उनले भने ।

घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन् । केहीको बढुवा समेत भएको छ ।

प्रहरी प्रधान कार्यालयले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा गरेको थियो ।

भागरथी हत्याको अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका असई पदमबहादुर थापा र इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई एक पद बढुवा गरेको हो ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले सोही घटनाका अपराधी पक्रन सफल भएको भन्दै डीआइजी सुवेदीलगायत पाँच जनालाई नगद पुरस्कारसहित सम्मान गरेको थियो ।

यसअघि दिनेशले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो ।