प्रेमी भेटेको कुरा लुकाउन सामूहिक बलात्कारको नाटक !

प्रेमी भेटेको कुरा लुकाउन सामूहिक बलात्कारको नाटक !

धनगढी । कञ्चनपुरमा १४ वर्षीया एक बालिकाले प्रेमीलाई भेट्न बनावटी घटना बनाएर सबैलाई झुक्याएको खुलेको छ । उनले आफूलाई अज्ञात समूहले अपहरण गरि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीलाई समेत ठगेको खुलेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मा शुक्रबार साँझ साढे ७ बजेतिर आफूलाई अपहरण गरेर तीनजना अपरिचित युवाले सामूहिक बलात्कार गरेको बालिकाले बताएकी थिइन् । तर घटना बुझ्दै जाँदा झुटो भएको प्रहरीले जनाएको छ ।

उनले शुक्रबार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा मोटरसाइकलमा आएका तीनजना युवकको समूहले अपहरण गरि अज्ञात स्थलमा लगेको र बलात्कार पछि मध्यरातमा सोही ठाउँमा छोडेर गएको भन्ने बयान दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ती बालिकाले बनावटी घटना रचेको पुष्टि भएको बताए । स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत ती बालिकाले आफ्ना प्रेमिकालाई भेटन सबै बनावटी घटना रचेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

उनका अनुसार घरबाट कलम किन्छु भन्दै हिँडेकी ती बालिका आफूसँगै अध्ययन गर्ने किशोरलाई भेट्न गएको अनुसन्धानका क्रममा पाइएको हो । प्रेमीलाई भेटन गएकी ती बालिकाले घर फर्कन धेरै ढिलो भएपछि घरपरिवारको डरले सामूहिक बलात्कारमा परेको भन्दै आफूले झुटो बोलेको बयान उनले प्रहरीलाई दिएकी छन् । 

बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।