नारी दिवसकै दिन चार छोराछोरीसहित आमाले गरिन् आत्महत्या

नारी दिवसकै दिन चार छोराछोरीसहित आमाले गरिन् आत्महत्या

दैलेख । दैलेखको आठबीस नगरपालिका–३ निमायलमा एक महिला चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस दिन(हिजो) ती महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी हुन् । 

३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको प्रहरी चौकी राकमका इन्चार्ज ज्ञानबहादुर रानाले जानकारी दिए । 

‘आइतबार बेलुका चार बजेतिर सुनिता चार छोराछोरीसहित घरबाट हिँडेको जानकारी हामीले पाएका छौं ।’ उनले भने,‘ति मध्ये १५ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव अछामको पञ्चदेवल नगरपालिकाको टोट्केसाल नजिकैको कर्णाली नदीको भंगालोमा सोमबार दिउँसो साढे दुई बजेतिर फेला परेको छ ।’

दुई जनाको शव हात बाँधिएको अवस्थामा भेटिए पनि अन्य तीन जनाको आमासहित छोरा ललित, छोरी रजनीको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सुनिताका श्रीमान मानसिंहलाई पक्राउ गरेको छ ।

दैलेख आठबीस नगरपालिका उपप्रमुख दीपा बोहराले घरेलु हिंसाका कारण घटना भएको बताइन् । ‘घटना भएको दिनमा पनि श्रीमानले ती महिलासहित छोराछोरीलाई कुटपिट गरेको पाइएको छ ।’ उनले भनिन्,‘सधै मदिरा पिएर ती महिलालाई श्रीमानले कुटपिट गर्ने गरेका थिए ।’