बालाजु सडक विस्तारको विरोधमा पक्राउ परेका सबैलाई रिहा गर्न सर्वोच्चको आदेश

बालाजु सडक विस्तारको विरोधमा पक्राउ परेका सबैलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बालाजु बाइसधारा क्षेत्रमा सडक विस्तारको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका सुमन सायमीसहित स्थानीय वासिन्दालाई रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले गैर कानूनी रुपमा थुनामा राखेको देखिएको भन्दै उनीहरुलाई रिहा गर्न आदेश दिएको हो।

सरकारले नागरिकको व्यक्तिगत सम्पत्ति हडप्ने गरी सडक विस्तार गरेको भन्दै प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सायमीसहित आधा दर्जन स्थानियलाई गत बुधबार पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा राखेको थियो।

उनीहरुलाई राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्यादसमेत लिएको थियो। सर्वोच्चले आदेशमा भनेको छ, ‘कुनै व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत, उचित कारणसहित वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्नेमा पक्राउ परेकाहरुले के कस्तो आपराधिक कार्य गरेको खुलेको छैन। निजहरुले राज्यविरुद्ध के कुन कसुर गरेको भन्ने स्पष्ट नै नगरी पक्राउ पूर्जी दिइएको र म्याद थप माग गर्दा र म्याद थपको आदेश गर्दासमेत सो को स्पष्ट आधार र कारण मिसिल संलग्न कारणबाट खुल्न सकेको नदेखिँदा निवेदकहरुको थुना गैर कानूनी देखियो।’