कान्छा श्रीमानको रुपमा चिनिएका थपलिया अब डक्टर श्रीमान

कान्छा श्रीमानको रुपमा चिनिएका थपलिया अब डक्टर श्रीमान

काठमाडाैं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश नवराज थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधी प्राप्त गरेका छन् । संकायका डिन प्रा.डा. विजयसिंह सिजापतिको अध्यक्षतामा सम्पन्न अनुसन्धान समितिको बैठकले थपलियालाई डाक्टरको उपाधी दिने निर्णय गरेको हो । सो क्रममा उनले ‘ल एण्ड डेभलपमेण्ट इन पोष्ट कन्ल्फिक्ट सिनारियो इन नेपाल’ विषयमा शोधपत्र प्रस्तुत गरेका थिए ।

थपलियाले त्रिभुवन विश्वविद्यालय, कानुन संकायका पूर्व डिन प्रा.डा. अम्बरप्रसाद पन्तको सुपरीवेक्षणमा तयार पारेको शोधपत्रको वाह्य मूल्याङ्कनकर्ता भारतको दिल्ली युनिभर्सिटी,कानुन संकायका पूर्व डिन,राममनोहर लोहिया विश्वविद्यालयका पूर्व उपकुलपति एवम् आईएमएस युनियन विश्वविद्यालयका कुलपति प्रा.डा. गुरदिप सिंह थिए ।

४३ वर्षअघि नुवाकोटको पञ्चकन्या गाउँपालिका (तत्कालीन भद्रुटार गाविस)मा जन्मेका न्यायाधीश थपलियाले कानुन र ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् । जापान सरकारको छात्रवृत्तिमा नेपाल–जापान सम्बन्ध संस्कृतिको अध्ययन पनि पूरा गरेका छन् । विद्यावारिधी प्राप्त गरेपछि थपलिया मुलुकको न्यायालयमा डा. लेख्ने वर्तमान न्यायाधीशहरूमध्ये पाँचौं भएका छन् ।

हाल सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा तथा उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत राजविराजका न्यायाधीश डा. रवि शर्मा अर्यालले आफूलाई डाक्टरको उपाधीबाट चिनाउने गरेका छन् ।

ल क्याम्पस स्ववियूको सभापति रहिसकेका उनी दुई वर्षअघिको चैतमा उच्च अदालतको न्यायाधीशमा नियुक्तिको लागि सिफारिश गर्दा  सबैभन्दा कम उमेरका न्यायाधीसको रुपमा परिचित थिए ।