बुधबारदेखि सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी

बुधबारदेखि सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि सत्याग्रहमा बस्ने पुनः चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा लगातार प्रदर्शन गर्दै आएका डा. केसीले शनिबार आफ्ना माग ११ गतेसम्म पूरा नभएमा यसअघि भने अनुसार नै १२ गतेदेखि सत्याग्रहमा बस्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्ट मात्रै होइनन्, गैरजिम्मेवार, जवाफदेहिता बिहीन र तानाशाह हुन् । उनले प्राथमिकता चिनेनन् ।अहिले चुनाव होइन नागरिकका समस्या समाधान गर्नु पर्ने बेला हो । तर उनको सत्तामा रहिरहने शनकका कारण देश अहिलेको अवस्थामा आएको हो ।’

उनले चेतावनी दिँदै भने, ‘हिजो श्री ५ थिए अहिले छैनन् । जनताले श्री ७ बन्न खोज्ने ओलीसहितका प्रवृत्तिहरुलाई पनि ठेगान लगाउने छन् ।’ प्रधानमन्त्री ओली दीर्घ रोगी पनि रहेको र उनले प्रयोग गरिरहेका औषधिका कारण पनि उनको नेतृत्व देशको सुरक्षाका लागि खतरनाक हुने डा. केसीले बताए ।

प्रतिनिधिसभा विघटन अवैध रहेकाले खारेज हुनु पर्ने, संवैधानिक निकायमा भएको नियुक्ति अमान्य हुनु पर्ने तथा स्वास्थ्य शिक्षा सुधारका लागि आफूसँग भएको सहमति कार्यन्वयन गर्नका लागि दिएको फागुन ११ को समय सीमामा माग पूरा नभए त्यसको भोलिपल्टदेखि सत्याग्रह थाल्ने उनले बताएका हुन् ।