भागरथी हत्याका आरोपितले बलात्कारको आरोपसमेत स्वीकारेपछि शव बुझ्न परिवार सहमत

भागरथी हत्याका आरोपितले बलात्कारको आरोपसमेत स्वीकारेपछि शव बुझ्न परिवार सहमत

कैलाली । बैतडीको दोगदाकेदार - ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टले बलात्कार गरेको समेत स्वीकार गरेका छन्। यस अघिसम्म पारिवारिक रिसाइबीका कारण भागरथीको हत्या गरेको तर बलात्कार नगरेको साविती बयान दिएका दिनेशले सरकारी वलिकको कार्यालय बैतडीमा आफ्ना बुवाकै अगाडि भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ।

आफ्नै बुवाका अघि सरकारी वकिल सामू उनले बलात्कारबारे बयान दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

यस्तै बुधवार सोधपुछका क्रममा उनको बयानकै आधारमा भागरथीको घडीसमेत प्रहरीले घटनाको झण्डै दुई सातापछि फेला पारेको सिंहको भनाइ छ। दिनेशले घटना आफू एक्लैले गरेकोसमेत स्वीकारेका छन्।

दिनेशले अभियोग स्विकारेपछि अब भागरथीका परिवार उनको शव बुझ्ने भएका छन्। यस अघिसम्म प्रहरीले दिनेशको साविती बयानलाई पुष्टि गर्नुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेका परिवारले आज शव बुझ्ने बताएका हुन्।

मृतक भागरथीका दाजु केशव भट्टले १४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कार गरिने बताए।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भट्ट भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्।