भागरथी हत्याका अभियुक्त सार्वजनिक, यी हुन् प्रहरीले पेश गरेका तीन आधार

भागरथी हत्याका अभियुक्त सार्वजनिक, यी हुन् प्रहरीले पेश गरेका तीन आधार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपीलाई ३ वटा प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरीले सोही गाउँका १६ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेको छ । ‘हामीले आरोपित व्यक्तिको लोकेसन, आइ विट्नेस र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘आरोपितको बारम्बारको बयान बाझिएको र उसले गरेको गतिविधिले पुष्टि गरेको हो ।’

पत्रकार सम्मेलनमा बोल्दै डीआईजी सुवेदीले चारैतर्फको दबाबका बावजुद घटनाको अनुसन्धानमा सफलता मिलेको बताए । ‘अनुसन्धानकै क्रममा रहेकाले बलात्कारपछि हत्या या हत्यापछि भन्ने एकिन भएको छैन,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘यो त प्रारम्भिक अनुसन्धान हो, अरू अनुसन्धान हुन बाँकी नै छ ।’

प्रहरीका अनुसार अन्य प्रमाणहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको र त्यसको रिर्पोट आएपछि थप कुरा खुल्ने बताएको छ ।  ‘फरेन्सिक ल्याबमा पठाएका छौं, त्यो आएपछि सार्वजनिक गर्छौं,’ डीआईजी सुवेदीले भने । निजका गतिविधि, पोजिसन, साथीहरूको भनाइ आदिले उसको संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ ।

‘अनुसन्धानका क्रममा प्रमाण भेटेर पक्राउ गरेका हौं । उमेरका सम्बन्धमा पनि अनुसन्धान गर्दैंछौं,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘थप व्यक्ति छ कि छैन भन्ने अनुसन्धान गर्दैछौं ।’ गत माघ २१ गते विद्यालयबाट फर्किनेक्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते स्थानीय लबलेक सामुदायिक बनको जंगलमा फेला परेको थियो ।