भागरथी भट्टको हत्यामा संलग्न पक्राउ, दिए यस्तो वयान

भागरथी भट्टको हत्यामा संलग्न पक्राउ, दिए यस्तो वयान

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भागरथीको हत्या भएको १३ औँ दिनमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई अहिले बिहान १० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई जिल्ला  प्रहरी कार्यालय बैतडीमा ल्याइएको छ ।

आरोपीले विद्यालयबाट फर्किने क्रममा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको उनले बताए ।  हत्या बारे थप जानकारी पत्रकार सम्मेलनमार्फत नै दिने प्रहरीको तयारी छ ।

भागरथीको गएको २१ गते हत्या भएको थियो । हत्या भएको भोलिपल्ट शव भेटिएको थियो । उनको बलात्कार पछि  हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको थियो । भागरथीका परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखे पछि शव जिल्ला अस्पताल बैतडीमा नै राखिएको छ ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी नेतृत्वको टोली १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छ ।  अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट समेत डीएसपीको कमाण्डमा प्रहरी टोली खटिएको छ ।