पर्सामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई प्रहरी घाइते

पर्सामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई प्रहरी घाइते

पर्सा । पर्सामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर एक पिपडाढीस्थित ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको हो ।

झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन । झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण भएको हो । सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको सयुँक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत भारतीयले लगेका छन् । ओरिया खोलाको नेपाली भूमि भएपनि भारतीय पक्षले दाबी गर्दै आएको छ । सो क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयबीच झडप तथा विवाद हुँदै आएको छ ।