भागरथी हत्या प्रकरण : अपराधी उम्कने हो कि भन्ने चिन्तामा स्थानीय

भागरथी हत्या प्रकरण : अपराधी उम्कने हो कि भन्ने चिन्तामा स्थानीय

बैतडी । सनातन धर्म माविमा पढ्ने किशोरी भागरथी भट्टको घटनामा संलग्न दोषीहरुको अझै पहिचान हुन सकेको छैन् । माघ २१ गते अर्थात गत बुधबार विद्यालयबाटै वेपत्ता भएकी भागरथीको  भोलिपल्ट अर्थात बिहिबार बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी उत्तमकुमार सुवेदी, सिआईवीको लगायतको टोली घटनास्थलमा भएपनि अझै अपराधि पत्ता लाग्न सकेको छैन् ।

भागरथीको घटना लगत्तै स्थानीय, विद्यार्थी र राजनीतिक दलहरुले प्रर्दशन गरिरहेका छन् । निर्मला हत्याकाण्ड कै झल्को दिने यो घटनाले आपराधिक गिरोह कतै उम्कने हो कि भन्ने चिन्ता स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गरेका छन ।

आज प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले राजनीतिक दलहरुसँग घटनाका बारेमा छलफल गरेका छन् । सबै संयन्त्र र विधि तथा प्रक्रियाहरु अपनाएर अनुसन्धान गरिरहेको र अनुसन्धानले छिट्टै नतिजा दिने जोशीको भनाइ छ ।

यसभन्दा अगाडि पनि दोगडाकेदारको यो क्षेत्रमा विभिन्न हत्याका घटनाहरु भएका र अझैसम्म पनि कुनै व्यक्ति पक्राउ नपरेकाले आफुहरु चिन्तित भएको स्थानीयको गुनासो छ ।