बन्दको नाममा ट्याक्सी जलाएको भन्दै विरोधमा उत्रिए ट्याक्सी व्यवसायी

बन्दको नाममा ट्याक्सी जलाएको भन्दै विरोधमा उत्रिए ट्याक्सी व्यवसायी

काठमाडौं । माघ २२ गते बिहान सामाखुशीमा ट्याक्सी जलाइएको घटनाको विरोधमा व्यवयासी आन्दोलनमा उत्रिएका छन् । नेकपाको प्रचण्ड–माधव पक्षले आमहड्ताल गरेकै दिन बिहानै सामाखुशीमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आजगनी भएको थियो। आगजनी कसले गरेको भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

सोही घटनाका दोषीलाई कानूनी कारबाही र पीडितलाई क्षति पुर्तिको माग गर्दै शनिबार राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघ तथा चालक सेवा समाज आन्दोलनमा उत्रिएको हो । उनीहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन् । धर्नाका लागि राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघका केन्द्रीय सदस्य अमित मगरको नेतृत्वमा २५ वटा ट्याक्सीको र्‍याली समेत निकालिएको थियो।

गोंगबुचोकबाट सरकारी धारा, गल्कोपाखा, लैनचैर हुँदै र्‍याली माइतीघर पुगेको हो। उनीहरूले विभिन्न ६ वटा माग राखेका छन् । ट्याक्सी आयोग गठन गरि यातायात मजदुरको हक, अधिकार सुनिश्चित गर्नुपर्ने, यातायात क्षेत्रमा गैरकानूनी धन्दा बन्द गर्नुपर्ने, टुटल र पठाओ सेवा बन्द गर्नुपर्ने लगायतका माग राखिएको छ।