देशभरको मौसममा बदली, कतै वर्षा, कतै हिमपात

देशभरको मौसममा बदली, कतै वर्षा, कतै हिमपात

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली आएको छ । जसका कारण कतै हिमपात भएको भएको छ भने कतै वर्षा भएको छ ।

हिमपात र वर्षाका कारण देशैभर चिसो बढेको छ । देशका उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको छ भने केहि पहाडी र तराईका जिल्लाहरुमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तीको जनजीवन निकै प्रभावित बनाएको छ ।

हिमपातले अत्याधिक चिसोपन बढेका कारण उत्तरीभेगका बासिन्दा घरभित्र आगो तापेर बसिरहेका र घरपालुवालाई पानी तताएर खुवाउन थालिएको स्थानीय तेन्जेन लामाले जानकारी दिए ।

खेतियोग्य जमिनमा हिउँ नपर्दा यस वर्ष गहुँ, तोरी र आलुजस्ता हिउँदेबालीलाई भने असर पुगेको कृषकले बताएका छन् । हिमपातका कारण पवित्र तीर्थ गोसाइँकुण्डको तलाउ जमेको, धार्मिक मार्ग हिउँले छोपेको, सडक मार्गका ओसिलो ठाउँमा पानी जम्दा बनेको बरफले दुई पाङ्ग्रे सवारी साधन गुडाउन असहज भएको प्रहरीले जनाएको छ ।