संसद पुनर्स्थापना नभए देश गृहयुद्धमा जान्छ : बाबुराम भट्टराई

संसद पुनर्स्थापना नभए देश गृहयुद्धमा जान्छ : बाबुराम भट्टराई

अर्घाखाँची । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संसद पुनर्स्थापना नभए देश गृहयुद्धमा जाने बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा मंगलबार प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष भट्टराईले गणतन्त्रको रक्षाका लागि दलहरु एक भएर आन्दोलनमा उत्रनुपर्ने बताएका हुन् । देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमनका विरुद्ध आन्दोलनको विकल्प नभएको उनको भनाइ छ ।

संविधानका चारवटा खुट्टा गणतन्त्र, संघियता, धर्म निरपेक्षता र समावेशिता रहेको दावी गर्दै उनले एउटा मात्रै खुट्टा भाँचिएपनि संबिधानको अर्थ नहुने उनकोले बताए । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्दा चारवटै खुट्टा हल्लिएकाले जुनसुकै बेला खाट भाँचिनसक्ने अध्यक्ष भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदेला भनेर पर्खेर बस्न नहुने पनि बताए । प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेस, दाहाल नेपाल नेतृत्वको नेकपासँग संयुक्त आन्दोलनको तयारी भैरहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष भट्टराईले बैसाखमा निर्बाचन हुने कुनै सम्भावना नरहेको बताउदै भट्टराईले देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान ओलीको समुह लागेको आरोप समेत लगाए ।