पश्चिमी वायु नेपाल भित्रिँदै, विहीबारदेखि तीन दिनसम्म पानी पर्ने

पश्चिमी वायु नेपाल भित्रिँदै, विहीबारदेखि तीन दिनसम्म पानी पर्ने

काठमाडौं । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले विहीवारदेखि देशभर वर्षा हुने संभावना रहेको छ। यस वर्षको हिउँदमा देशका केहि स्थानमा छिटफुट पानी पर्नु बाहेक वर्षा हुन नसकिरहेको बेला अब भने पानी पर्ने प्रणाली भित्रिन लागेको हो।  जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले अहिलेसम्मको मौसमी अवस्था हेर्दा विहीवारदेखि पानी पर्ने जनाएको छ। 

महाशाखाले यसबारे विषेश बुलेटिन निकालेर जानकारी गराउने तयारी गरेको मौसमविद् शान्ति कंडेलले जानकारी दिइन्। भोलि बेलुकादेखि भित्रिन सुरु गर्ने पश्चिमी वायुको असर पश्चिम क्षेत्रबाटै सुरु भई विहीवारदेखि तीन दिनसम्म देशभर वर्षा र हिमपात हुने कँडेलले बताइन्। 

लामो समयदेखि वर्षा र हिमपात नहुँदा बालीनालीमा क्षति पुगेको छ। वायु प्रदुषण र सुख्खापन पनि बढको छ। केहि समयअघि पश्चिम र सुदुरपश्चिमका केहि ठाउँमा पानी परे पनि देशका अन्य भागमा पानी परेको छैन।​

यसैबिच अहिले तराईका अधिकांस स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। धेरैजसो पहाडी भु–भागमा आशिंकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापिय रेखाको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश नम्बर एक, गण्डकी प्रदेश र सुदुर पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान २ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।