निर्वाचनको वातावरण बनाउन प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचनको वातावरण बनाउन प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चार माध्यमसँग आग्रह गरेका छन् । निर्वाचनमा सरकारी स्वामित्वका सञ्चार माध्यमको राष्ट्रिय दायित्व अन्य सञ्चार माध्यमको भन्दा बढी रहेकाले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउन थपलियाले जोड दिए ।

निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको चर्चा गर्दै सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमको सहयोगबाट निर्वाचनको उपयुक्त वातावरण तयार गर्न सञ्चार माध्यमको ठूलो भूमिका रहेको उनले बताए । उनले आफ्नो पेसागत दक्षता र सीपलाई प्रयोग गरेर देशलाई निर्वाचनमय बनाउन सरकारी स्वामित्वका सञ्चार माध्यम स्वतन्त्र रहेको पनि स्पष्ट पारे ।

सरकारी स्वामित्वका सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूले आइतबार प्रमुख निर्वाचन आयुक्त थपलिया र आयोगका सचिव देवकुमारी गुरागाईंलाई आ–आफ्नो संस्थाले गरेको तयारीबारे जानकारी गराएका थिए। सञ्चार माध्यमका प्रमुखहरूले आकस्मिक रूपमा निर्वाचनमा जानु परेको र ठूलो जनशक्ति तथा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले स्रोत साधन जुटाइदिन आयोगसँग अनुरोध पनि गरेका छन् ।