देशभर वर्षा र हिमपात सम्भावना

देशभर वर्षा र हिमपात सम्भावना

काठमाडौं । देशभरको मौसम सोमबार बदली हुने र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको हो । यस्तै सोमबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा भएको मौसमविदले जानकारी दिएका छन् ।

यो हिउँदको पानी पर्न थालेको बताइएको छ । सोमबार बिहान केहीबेर काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा छिटफुट वर्षा भयो । दिनभर पनि पानी पर्ने सम्भावना रहेको बताइएको छ । अहिले देशभर सामान्य बदली रहेको छ। सोमबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ को भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरि राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

यसैबिच देशका उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । यस्तै बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केहि गिरावट आई देशैभरि चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न सजग रहन सबैमा आग्रह पनि गरेका छन् ।