कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३१५ पुग्यो

कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३१५ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता पोर्चुगलमा दुई र बेलायतमा एक जनाको मृत्यु भएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय १५ पुगेको छ । अहिलेसम्म २० देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ । अहिलेसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।