आज सामान्य वर्षा र हिमपातको सम्भावना

आज सामान्य वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका धेरै ठाउँमा आंशिक बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव रहेकाले सबैजसो ठाउँमा आंशिक बादल लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

अहिले पहाडी भूभागमा सामान्य बादल लागेको छ भने तराईमा सामान्य कुहिरो लागेको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना समेत रहेको र सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले बताए ।

पश्चिमी वायुको प्रभावका कारण अबको तीन-चार दिन तराईमा बाक्लो कुहिरोको सम्भावना नरहेको र बिहानीपख लागेको कुहिरो पनि चाँडै हट्ने मौसमविद्ले बताएका छन् । तर केही दिन देशभर आंशिकदेखि सामान्य बद्ली, कतैकतै सामान्य वर्षा र सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले बताए।

काठमाडौं उपत्यकासहित देशभर बढेको चिसो कायमै छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम एक दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।