उखुको बक्यौता भुक्तानी सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको मृत्यु

उखुको बक्यौता भुक्तानी सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको मृत्यु

काठमाडौं । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ ।

सरकारले यादवको बक्यौता रु २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो । यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको रु पाँच करोड  दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो । 

सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका  किसानका रु ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो ।  किसानले भने आफूहरुको कूल बक्यौता रु ९५ करोड रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।

उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको रु १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने बताए । गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता  भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडौं माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए ।