काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम चार डिग्री सेल्सियस मापन गरिएको छ । 

यसअघि आइतबार काठमाडौंको न्यूनता तापक्रम ४.५ डिग्री सेल्सियस थियो । मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ”, मौसमविद् सापकोटाले भने । यस वर्ष काठमाडौंको तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । 


मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ । दिनभर घाम लागे पनि बिहानबेलुका बढी चिसो महसुस हुने बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । 


महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबै भन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस रहेको छ ।