अझै ३ दिनसम्म लाग्ने छैन घाम, वर्षा भने नहुने

अझै ३ दिनसम्म लाग्ने छैन घाम, वर्षा भने नहुने

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै ३ दिन मौसममा बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै ३ दिन प्रभावित हुने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिवारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए ।

हाल प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा प्रदेश २ मा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । 

प्रदेश नम्बर १, २, वाग्मती र गण्डकी प्रदेशका भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा हुने विभागले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ० डिग्री र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस  छ । बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ० डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस छ ।