काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् ।
उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेंसी–शेरा कालोपत्र सडकको बेंसीशहर नगरपालिका–११ चितीमा मंगलवार शिलान्यास कार्यक्रममा उनले एकीकृत कम्युनिस्ट पार्टी निर्माणको अभियानमा २ अध्यक्षको महत्त्वपूर्ण योगदान रहेकाले उनीहरूको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताए ।
नेकपा स्थायी कमिटीका सदस्य समेत रहेका गुरुङले भने, ‘यो सरकारलाई जनताले ५ वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न होइन ।’ मुख्यमन्त्री गुरुङले एकताको मर्म भनेको २ अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढ्दै पार्टी एकताका बाँकी काम सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने बताए ।
गुरुङले भने, ‘यो समय प्रचण्डले प्रधानमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले प्रचण्डको राजीनामा माग्ने बेला होइन, एकले अर्कालाई आरोप लगाउने अधिकार पनि छैन ।’ नेता गुरुङले अध्यक्ष बन्न मन लागे ४ महिना पर्खने धैर्य गर्नुपर्ने भन्दै सरकार भने पूरा अवधि रहने बताए ।
‘जनताको जनादेश ५ वर्षका लागि स्थायी सरकार हो । सरकारले हालसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार ५ वर्ष टिक्छ । राजीनामा माग्नु जनमतको जनादेशविपरीत हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्छ,’ उनले भने ।
पार्टी एकतालाई जोगाउन २ अध्यक्ष ओली र प्रचण्डको महत्त्वपूर्ण योगदान रहने भए पनि नेतृत्व गर्छु भन्ने अरु नेता खिया लागिसकेकाले उनीहरूतिर फर्केर समस्याको समाधान नहुने उनको भनाइ थियो । मुख्यमन्त्री गुरुङले भने, ‘प्रधानमन्त्री ओलीले अबको महाधिवेशनमा अध्यक्ष नउठ्ने बताउनुभएको छ । यस्तै शैली हो भने एकता महाधिवेशन गर्ने र सहमतिमा अध्यक्ष बन्ने कुरा प्रचण्डले समेत गुमाउन लागिसक्नुभयो ।’
मुख्यमन्त्री गुरुङले मंसिर २८ गते हुने स्थायी कमिटीको बैठकले पार्टी एकतालाई कायम राख्नुपर्ने बताए । दोस्रो र तेस्रो पुस्ताको नेतासँग त्यो क्षमता भएकाले स्थायी कमिटीले पार्टी एकताको मर्म र स्थायी सरकारको मर्मलाई बुझेर निर्णय गर्नसक्ने उनको भनाइ थियो । उनले अहिले राजतन्त्रको पक्षमा उठिरहेको आवाजको कुनै तुक नरहेको उल्लेख गर्दै भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र नभई अझै उन्नत खालको गणतन्त्र हो ।’