बलात्कार मुद्दा लागेका सिद्धबाबालाई अदालतले दियो सफाइ

बलात्कार मुद्दा लागेका सिद्धबाबालाई अदालतले दियो सफाइ

इनरुवा । सुनसरी जिल्ला अदालत सुनसरीले बलात्कारको अभियोग लागेका 'सिद्धबाबा' भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने फैसला सुनाएको छ। सोमबार जिल्ला न्यायाधीश न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबाविरुद्धको अभियोगको दाबी ठहर नहुने फैसला गरेको हो। 

जिल्ला अदालत सुनसरीका अनुसार अब सिद्धबाबाले अभियोगबाट सफाइ पाएका छन्। सरकारी पक्षलाई चित्त नबुझेमा उनीविरुद्ध उच्च अदालत जान सक्नेछ। 

जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले सिद्धबाबाल दोषी ठहर गर्ने प्रमाण नपुगेकाले सफाइ दिएको बताए। आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो। २०७६ साल पुस १४ गते अदालतले उनलाई तीन लाख धरौटीमा रिहा गरेको थियो। 

त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो। उच्च अदालत विराटनगरको आदेश बेरीतको भएको उल्लेख गर्दै सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाई गर्दा निर्दोष नदेखिएपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश अदातले दिएको हो।