दुर्घटनाग्रस्त कार बाहिर युवतीको शव फेला, थप अनुसन्धान हुँदै

दुर्घटनाग्रस्त कार बाहिर युवतीको शव फेला, थप अनुसन्धान हुँदै

भक्तपुर । भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कारमा एक युवतीको शव फेला परेको छ। करिब २५ वर्षीया युवतीको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ।

मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर घाइते अवस्थामा युवती फेला परेकी हुन्। उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा भक्तपुरले जनाएको छ।

कार भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको अवस्थामा राति पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ। कारमा कतिजना सवार थिए र कसले चलाएको थियो खुलेको छैन।

दुर्घटनापछि चालकसहित अन्य यात्रु भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ।