जन्म दिनमा गरिने खर्च कटाएर विद्यालयको नाममा अक्षय कोषको स्थापना

जन्म दिनमा गरिने खर्च कटाएर विद्यालयको नाममा अक्षय कोषको स्थापना

जुम्ला : आफ्नो जन्म दिनमा गरिने खर्चलाई कटाएर प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीले विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । ६४ वर्ष पूरा भएको अवसरमा प्राध्यापक डाक्टर उप्रेतीले आफ्नो चन्दननाथ नमूना माध्यामिक विद्यालय जुम्लामा एक लाख एक हजार १०५ रुपैयाँको अक्षय कोषको स्थापना गरेका हुन्।

प्राध्यापक डाक्टर उप्रेतीले शिक्षामा सुधार ल्याउन र विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि अक्षयकोष स्थापना गरिएको बताए। उप्रेतीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादुर रोकायालाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन्। उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पहिलो पटक सेवा दिन आएका छन्।

उनले काम गरेको पहिलो महिनाको पारिश्रमिकबाट आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गरेको बताए। उनले आफ्नो ६४ औं जन्मदिनको अवसरमा उक्त रकम अक्षय कोषको लागि सहयोग गरेको र आगामी दिनमा समेत कोषमा रकम थप गर्दै लैजाने बताए। उप्रेतीले अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोग गरिने बताए। उनले आफ्नी बहिनी १५ रुपैयाँको अभावले मुत्यु भएको स्मरण गर्दै भने,रोग भोग र शिक्षाबाटै कोही कसैलाई पनि वञ्चित हुन नपरोस्।

आर्थिक अभावका कारण कारणले विद्यालयमा पुगेर शिक्षा लिन नसक्ने बालबालिकालाई यो कोषबाट सहयोग गरिने छ। गरिव, जेहेन्दार तथा अपांगता भएका छात्रा तथा छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइने छ। प्राध्यापक डाक्टर उप्रेतीको जन्म दिनको शुभअवसरमा स्थापना भएको अक्षय कोषको नाम रामलक्ष्मी प्रोत्साहन पुस्कार रहेको छ।

यस वर्ष भने रामलक्ष्मी प्रोत्साहन पुस्कार पाउने विद्यार्थीमा कक्षा १० का जेहेन्दार मनिष महतारा, बचन शाही अपांगता भएका व्यक्ति, कक्षा ७ का सूचना रावत, कक्षा ८ का प्रतीका गिरी, आयुष महत, कक्षा १२ का विपना न्यौपाने, कक्षा ९ मा अध्ययनरत राममाया कुलाल, निशा सुनार कक्षा ८ का सोनाम पेम्वा तामाङ र कक्षा १० मा अध्ययनरत पुष्पा आचार्य रहेका छन्।

तेह्रथुममा जन्मिएका प्राध्यापक डाक्टर उप्रेती हालको बुढानिलकण्ठ नगरपालिका ८ काठमाडौंमा बस्दै आएका छन्। जन्म २०१३ साल पुस ३ गते भएको थियो।पिता खगेश्वर उप्रेती र माता सावित्रा उप्रेतीको कोखबाट जन्मिएका डाक्टर उप्रेतीले नेपालका विभिन्न जिल्ला र बेलायत, अमेरिका, फ्रान्स, इजरायल, डेनमार्क, जापान, चीन, इजिप्ट, सिंगापुर, थाइल्याण्ड, कतार, अस्ट्रेलिया, हङकङ, बगलांदेश र भारतलगायतका विभिन्न देशमा भ्रमण गरिसकेएका छन्।