बोलपत्र प्रणाली ह्याक गरी ठेक्का हेरफेर गरेको आरोपमा विक्रम पाण्डेसहित २२ विरुद्ध मुद्दा

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का हेरफेर गरेको आरोपमा विक्रम पाण्डेसहित २२ विरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको लामो अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दर्ता गरेको हो ।

सीआईबीको अनुसन्धानअनुसार आरोपितहरूले सरकारी क्लाउड सर्भरमा अनधिकृत पहुँच बनाएर बोलपत्रको बिडिङ मूल्य परिवर्तन गर्ने र ठेक्का आफ्नो पक्षमा पार्ने गरेको खुलेको छ । उनीहरूले सेटिङ मिलाउन र सूचना आदानप्रदान गर्न व्हाट्सएप प्रयोग गर्ने गरेको अभियोजन पक्षको दाबी छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, आरोपितहरूले प्रविधिको दुरुपयोग गरी प्रतिस्पर्धालाई प्रभावित पारेका थिए ।

मुद्दा दायर गरिएका २२ जनामध्ये पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलगायतका स्थापित निर्माण व्यवसायीहरू समेत रहेका छन् । प्रहरीले यसअघि नै अनुसन्धानका क्रममा १२ जनालाई पक्राउ गरिसकेको छ भने अन्य १० जना अझै फरार रहेको जनाएको छ ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगपत्रमा आरोपितहरूलाई साइबर अपराध, कीर्ते र क्रिप्टो कारोबारसम्बन्धी कसुरमा पनि सजाय माग गरिएको छ ।