'घण्टी'लाई भोट हाल्नेहरू पछुताउने अवस्थामा पुगे, न्यायालयमाथि सरकारको हस्तक्षेप बढ्यो : दुर्गा प्रसाईँ

'घण्टी'लाई भोट हाल्नेहरू पछुताउने अवस्थामा पुगे, न्यायालयमाथि सरकारको हस्तक्षेप बढ्यो : दुर्गा प्रसाईँ

भक्तपुर।'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान'का संयोजक दुर्गा प्रसाईँले नयाँ राजनीतिक शक्तिप्रति जनताको मोहभंग हुन थालेको दाबी गरेका छन्। शनिबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनका बेला 'घण्टी' (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई समर्थन गर्नेहरू अहिले सामाजिक र पारिवारिक दबाबमा परेको टिप्पणी गरे।

विगतको निर्वाचनलाई स्मरण गर्दै प्रसाईँले भने, "हिजो विदेशमा रहेका युवाहरूले घरमा फोन गरेर घण्टीमा भोट नहाले घरै आउँदिन भनेर दबाब दिए। तर आज परिस्थिति फेरिएको छ।

अहिले तिनै आमाबुबाले भनिरहेका छन्-छोरा, यहाँ त अब घर नै नरहने अवस्था आयो, कुन घर फर्किन्छौ?" उनले जनताको आशा र अपेक्षा अनुसार नयाँ दलहरूले काम गर्न नसकेको तर्फ संकेत गरे।

प्रसाईँले प्रधानमन्त्री बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीमा शक्ति केन्द्रीकृत गर्न खोजेको आरोप लगाए। "शक्ति भनेको पद होइन, जनता हुन् भन्ने कुरा नभुल्न म चेतावनी दिन्छु," उनले भने। राज्यको कार्यकारी प्रमुखले शक्ति आफ्नो हातमा मात्रै राख्न खोज्नु लोकतन्त्रका लागि घातक हुने उनको तर्क थियो।

सरकारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा कनिष्ठ न्यायाधीशलाई प्राथमिकता दिएको भन्दै प्रसाईँले आक्रोश व्यक्त गरे।

चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले न्यायालयको स्वतन्त्रतामाथि सिधै हस्तक्षेप गरेको उनको जिकिर छ। यस कदमले न्याय सम्पादनमा राजनीतिक छायाँ पर्ने भन्दै उनले यस्ता गतिविधि विरुद्ध नागरिकहरू सचेत हुनुपर्नेमा जोड दिए।