गाँजा खेतीलाई कानुनी मान्यता दिन बाटो खुल्यो

गाँजा खेतीलाई कानुनी मान्यता दिन बाटो खुल्यो

काठमाडौं । नेपालमा गाँजा खेतीका लागि कानुनी बाटो खुलेको छ। संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा सदस्यका रुपमा नेपालले पनि गाँजा खेती खुलाउने पक्षमा मतदान गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङका अनुसार नेपाल सरकारको निर्णयानुसार जेनेभामा रहेका राजदूत प्रकाशकुमार सुवेदीले गाँजा खेती खुलाउने पक्षमा मतदान गरेका हुन्। तामाङले गाँजा खेती खुलाउनुका लागि संसदमा विधेयक अघि बढाउन केही वर्षदेखि पहल गर्दै आएका छन्।

'कानुनी मान्यताका लागि हामीले जुन बहस सञ्चालन गर्दै संसदमा गाँजा खेतीको कानुनी मान्यताका लागि गैरसरकारी विधेयक नै दर्ता गरेका छौँ। अब यसका लागि बाटो खुल्ला भएको छ', उनले भनेका छन्, 'हरेक नेपालीलाई र सिंगै राष्ट्रलाई धनी बनाउन सक्ने गाँजालाई अब कानुन बनाएर हामी खुल्ला गर्नेछौं।'

तामाङका अनुसार गाँजाबारे अन्तर्राष्ट्रिय रूपमै बहस भइरहेका बेला विश्‍व स्वास्थ्य संगठनले ३ वर्ष अगाडि नै संयुक्त राष्ट्रसंघलाई यसलाई लागुऔषधको सूचीबाट हटाई यसलाई औषधीय गुण भएको वनस्पतिको सूचीमा राख्‍न पत्र लेखेको थियो। उक्त प्रक्रियालाई संयुक्त राष्ट्रसंघले आफ्नो सदस्य राष्ट्रहरूको बीचमा छलफलमा पठाएको तामाङले बताए।

'हामीले नेपालमा व्यापक छलफल बहसपछि नेपालले पक्षमा मतदान गर्ने निष्कर्षमा पुग्यौ', उनले भनेका छन्, 'संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयका ५३ सदस्यमध्ये नेपाल पनि भोट हाल्न पाउने सदस्यका रूपमा छ।'